रुकुम — रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ महिनादेखि विद्युत् आपूर्ति सेवा बन्द भएको छ। नगरको वडा नम्बर ७ मा रहेको लापुरीखोला लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या भएपछि विद्युत् आपूर्ति सेवा बन्द भएको हो।
८५ वाट विद्युत् उत्पादन क्षमता रहेको हाइड्रोपावरले कम्पनीसँग पटकपटक मर्मतका लागि आग्रह गर्दासमेत मर्मतको काम नभएको वडाध्यक्ष इन्द्रलाल शर्माले जानकारी दिए। एचए कम्पनीले उपभोक्ता समितिलाई विद्युत् हस्तान्तरण नगरेका कारण अन्य कम्पनीबाट बिग्रेको सामान किन्न र मर्मतका लागि जनशक्ति बोलाउन आफूहरूलाई कठिन भएको उनको भनाइ छ।
नेपालीहरूको महान चाड विजयादशमी तथा शुभदीपावली नजिकिँदै गर्दा समेत विद्युत् आपूर्ति सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। ७ सय ग्राहक संख्या रहेको लघुजलविद्युत् आयोजनाबाट नगरको वडा नम्बर ६ घर्तीकाँडा, वडा नम्बर ७ को नार्जी खत्रीगाउँ कुमाईगाउँ, वडा नम्बर ८ को वसीगाउँ सोतीखोला, गेस्मा र वडा नम्बर ९ को कोटजहारी गुर्तालगाउँमा विद्युत् आपूर्ति हुँदै आइरहेको थियो।
विद्युत् आपूर्ति सेवा अवरुद्ध भएसँगै यस क्षेत्रका व्यापार व्यवसायी एवं सर्वसाधारणलाई मोबाइल चार्ज गर्नदेखि सञ्चारका माध्यम प्रयोग गर्न र उद्योगधन्दा चलाउन समस्या भएको छ। हाइड्रोपावरमा बिग्रेको उक्त सामान किन्न साढे २ लाख रकम लाग्ने उपभोक्ता समितिले बताएको छ।