काठमाडौं — सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिएका छन्। बिहीबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो चुनौती दिएका हुन्।
उनले आफूले भ्रष्टाचार गरेको विषयमा छानबिन गर्न बाहिरी शक्ति ल्याउन पनि चुनौती दिए। ‘यहाँबाट चल्दैन भने कोको ल्याउन सक्नुहुन्छ ? ल्याएर छानबिन गरे हुन्छ, म यस्ता गलत तरिकाका विषयमा विश्वास गर्दिँन’, उनले भने, ‘म हच्किनुपर्ने कुनै कारण छैन। केही छ भने ल्याउनुहोस्, म जवाफ दिनसक्छु।’
साथै ‘१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए सम्पूर्ण कारवाही भोग्न तयार छु’, पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने, ‘यस्तो अफवाहाको पछाडि लाग्नु आवश्यक छैन। यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैं छानबिन गर्नसक्छ।’
उनले यस्ता प्रश्न गरेर पत्रकारले नै आफ्नो मान र मर्यादा घटाइरहेको आरोपसमेत लगाए। ‘यस्ता प्रश्न गरेर नेपालको पत्रकारिताले आफ्नो अस्तित्व, जिम्मेवारी, मान र मर्यादा घटाइरहेको छ’, मन्त्री बास्कोटाले भने।
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारी तिब्र पारिएको बताए। उनले सी विचारधारामाथि भएको छलफललाई अनावश्यक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए। ‘नेकपा नेकपा पथमै छ’, उनले भने, ‘अरुको पथ अनुसरण हुँदैन तर छलफल र अध्ययन गर्न जुनसुकै पथभए पनि आपत्ति जनाउनुपर्ने आवश्यकता देख्दिनँ।’