रोयटर्स —संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार अमेरिकाको न्यूयोर्कमा भएको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा आक्रोशपूर्ण र भावुक मन्तव्य दिएकी १६ वर्षीया ग्रेटा थनबर्गलाई सन् २०१९ को राइट लाइभ्लिहुड अवार्ड प्रदान गरिने भएको छ।
वैकल्पिक नोबेल पुरस्कार भनिने उक्त अन्तर्राष्ट्रिय अवार्ड सन् १९८० देखि विश्वव्यापी समस्या समाधानमा योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गरिन्छ। स्विडेनका विदेश मामिला मन्त्रीले बुधबार उक्त पुरस्कार घोषणा गरेका हुन्। उक्त अवार्ड सन् २०१९ को डिसेम्बरमा ४ मा हस्तान्तरण गरिने भएको छ।
उक्त पुरस्कार घोषणापछि थनवर्गले भनिन्, ‘ मलाई उक्त पुरस्कारबाट सम्मान गरिएकोमा निकै कृतज्ञ छु। तर, जब म पुरस्कार प्राप्त गर्नेछु। त्यो पुरस्कार पाउने ममात्रै हुनेछैन। उक्त पुरस्कारको हिस्सेदार विश्वभर पृथ्वी बचाउने अभियानमा लाग्ने सम्पूर्ण स्कूलका बालबालिका, युवा तथा वयस्क हुनेछन्।’
ग्रेटासँगै पश्चिमी सहाराका अमिनाटौ हैडर, चीनका गऊ जियानमे र ब्राजिलका डाभी कोपेनवार हुटुकारा योनोमामी रहेका छन्। हरेक विजेताले १०३ हजार डलर रकम प्राप्त गर्नेछन्।
विश्वका ६० भन्दा बढी मुलुकका नेताहरु सम्मिलित जलवायुसम्बन्धी सम्मेलनको उद्घाटन सत्रमा बोलेकी ग्रेटाले भनेकी थिइन्, ‘ हामी तपाईहरुलाई कहिल्यै माफ गर्ने छैनौँ। जलवायु परिवर्तनको विषयलाई सम्बोधन गर्न राजनीतिज्ञ र कानुन निर्माताको असफलताका कारण जनता पीडित बन्नुपरेको छ। उनीहरु मरिरहेका छन्। र, सम्पूर्ण इकोसिस्टम ध्वस्त हुँदैछ। आम रुपमा अस्तित्व नै जोखिममा परेको अवस्थामा छौं। तपाईहरुले यस्तो अवस्था ल्याउने हिम्मत कसरी गरे ?’
उनले सन् २०३० सम्ममा कार्बन उत्सर्जन आधा घटाउने प्रस्तावलाई पनि अपर्याप्त भएको बताएकी थिइन्। शिखर सम्मेलनमा सहभागी हुनेमा बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनदेखि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर एन्जेला मर्केलसम्म थिए। उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिनेसमेत चर्चा भइरहेको छ।