एजेन्सी– फ्रान्सका पूर्वराष्ट्रपति ज्याक शिराकको ८६ वर्षको उमेरमा मृत्यु भएको छ। वर्षौंसम्म उनले स्मरणशक्ति गुमाउने रोग लिएर बाँच्नुपरेको थियो। उनलाई अल्जाइमर रोग लागेको बताइएको थियो।
शिराक सन् १९९५ देखि २००७ सम्म राष्ट्रपति थिए। उनी दुईपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री र १८ वर्ष पेरिसका मेयर थिए। उनको राष्ट्रपतित्वमा खासै केही काम नभएको र राजनीतिक गतिरोध आएको अनि देश ऋणमा चुर्लुम्म डुबेको भए पनि उनको आकर्षक व्यक्तित्वका कारण उनी सेवानिवृत्त हुँदा फ्रान्सका लोकप्रिय राजनीतिकर्मीमध्ये एकका रूपमा लिइएका थिए।
अन्तर्रा्ष्ट्रिय राजनीतिमा शिराक सन् २००३ मा अमेरिकाले गरेको इराक आक्रमणको घनघोर विरोधीका रूपमा चिनिन्छन्। त्यतिखेर उनको युद्धविरोधी अडानले समर्थन सूचकांक ९० प्रतिशत पुगेको थियो। इराकमा कब्जा जमाउनु दुःस्वप्न हुने उनले त्यतिखेर चेतावनी दिएका थिए।