काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो विचारधारात्मक छलफल तथा सम्झौतालाई लिएर नेपालमा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला चीनले भने सी जिनपिङ विचारधारा पहिलेनै अन्तराष्ट्रियकरण भइसकेको बताएकी छ।
चीन अध्ययन केन्द्रले काठमाडौंमा बिहीबार सी जिनपिङ बिचारधाराबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार निर्यात नगर्ने बताइन्। उनले कुनै देशको आन्तरिक मामिलामा समेत चीनले कहिल्यै हस्तक्षेप नगर्ने धारणा राखिन।
नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख वक्ता रहेको सो कार्यक्रममा चिनियाँ राजदूतले सी विचारधारा अन्तराष्ट्रियकरण भइसकेको बताइन। नेपालमा सी विचारधाराबारे चीनले बहस शुरु गरेर अन्तराष्ट्रियकरण गरेको भनी कतिपयले टिप्पणी गरेका बेला राजदूतको यस्तो धारणा आएको हो।
कार्यक्रममा राजदूत यान्छीले चीन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन्। हालै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई विपक्षी कांग्रेस पार्टी लगायतले आपत्ति जनाएका छन्।