बुटवल – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय ऐन कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएको गुनासो गरेका छन्। तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई बिहीबार रुपन्देहीमा सम्बोधन गर्दै उनले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए।
स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएको बताउँदै उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोंचमा एकरुपता हुनुपर्छ।’
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए। पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांण र रुपन्देही क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल/भारत सीमा नाका, देशको मध्यभाग, ६ लेन सडक, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे।
भारतले गरेको नाकाबन्दीका बेलामा समेत बेलहिया नाका अवरुद्ध नभएको स्मरण गर्दै उनीहरुले रुपन्देही भारतसँग मात्र नभई चीनसँगकोअन्तराष्ट्रिय ब्यापारिक नाका हुन सक्ने औंल्याए। तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्डले उदघाटन गरे।
करिब ५० अर्ब लगानी भित्राउने लक्ष्यसहित २२ परियोजना अघि सारिएको सम्मेलनमा नेपालका साथै भारत, चीनसहितका विदेशी मुलुकबाट समेत करिब पाँच सय जना सहभागी छन्।