दाङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको बताएका छन्। आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाएका छन्।
दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के(के हुँदै अहिले सी पथमा पुगेका छन्। समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, तर नेपालको समाजवाद के हो भन्ने करा भन्न सक्दैनन्।’
कम्युनिष्टहरुले छलछामको राजनीति गरेको र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको पौडेलको आरोप छ। उनले भने, ‘आफूहरु सिद्धान्तमा नै कन्फ्यज भएपछि जनतालाई पनि कन्फ्युजन राख्ने प्रयास गरिरहेका छन्।’
नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका आयोजनाहरु उदघाटन गर्ने र त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने गरेको आरोप लगाएका छन्। कम्युनिष्ट नेताहरुले फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिँड्न थालेको बताउँदै उनले यो अर्कोे मूर्खता मात्रै हुने पौडेलले बताएका छन्।