काठमाडौँ – नेपाल र अफ्रिकी मुलुक घानाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।
योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १ सय ६८ देशमा फैलिएको छ। राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको एक सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवर्दनका सम्भावनाको खोजी गरिने बताए।