काठमाडौँ – भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नेपालीकरण गर्ने दुईजना शाखा अधिकृतसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध आरोपपत्र दायर गरिएको हो।
यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरमा कार्यरत दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।मोटो रकम लेनदेन गरी नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए।