काठमाडौं — भारतकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले कारको मुल्य घटाएको छ। चाडपर्व आउनैलाग्दा बिक्री बढाउने योजनाअनुसार कम्पनीले ग्राहकलाई फाइदा हुने गरी कारको मूल्य घटाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
कम्पनीका अनुसार मारुती सुजुकीले आफ्नो १०वटा चर्चित कारको शोरुम मूल्यमा ५ हजार भारुसम्म कम गर्ने निर्णय गरेको छ। यो सूचीमा मारुती सुजुकी अल्टो ८सय, अल्टो के१०, स्विफ्ट डिजल, सेलेरियो, बलेनो डिजल, इग्निस, डिजायर डिजल, टुर एस डिजल, भिटारा ब्रेजा र एस क्रसका सबै भेरिएन्टहरु समावेश छन्। देशैभरका सबै डिलरशिपमा नयाँ मूल्य आजैबाट लागू भएको बताइएको छ।
अर्थमन्त्री निर्मला सीतारमनले कर्पोरेट करको दर घटाएको केही दिनपछि नै कम्पनीले आफ्ना उत्पादनको मूल्य घटाएको हो। घटेको मूल्य अहिलेलाई कारको रेन्जअनुसार उपलब्ध गराइने अफरबाहेक दिइनेछ। तर कम्पनीले बलेनो र डिजायरको पेट्रोल भेरिएन्टमा भने मूल्य घटाएको छैन।