एजेन्सी,मुम्बई– तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ। ३९ बर्षका माधवको आज बुधबार दिउँसो निधन भएको हो। लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा अन्तिम सास फेरेका हुन्। स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन्।
तेलूगुका देशम पार्टीको प्रमुख तथा आन्ध्र प्रदेशका मुख्य मन्त्री चन्द्रबाबु नायडुले ट्वीटमार्फत माधवको निधनमा शोक व्यक्ति गरेका छन्। उनको निधनको खबरले पुरै टलिउड अहिले शोकमा डुबेको छ। माधवले एक क्यारिकेचर कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले कमेडियनको रुपमा फिल्ममा काम गर्न थाले।
उनले १९९६मा फिल्म संम्प्रदायमबाट फिल्मी करियर सुरु गरेका थिए। उनले तमिल र तेलुगूका करिब २ सय बढी फिल्म अभिनय गरेका छन्। पछिल्लो समय उनले फिल्म ‘डा.परमानन्देन स्टुडेन्टस्’मा अभिनय गरेका छन्। यो फिल्म रिलिज हुन बाँकी छ। पछिल्लो केही बर्ष अगाडि उनले राजनीतिमा पनि रुचि देखाएका थिए।