काठमाडौं — कृषि विकास बैंकबाट झण्डै ५ करोड रूपैयाँ चोरिएको घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी जनाएको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा बुधवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो। मुख्य अभियुक्त भने भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरूलाई पक्राउ गरेर झण्डै ५ अर्बसम्म चोरिन सक्ने खतरा टारेको दाबी प्रहरीले गरेको छ। ‘५० मिलियन डलर ५ अर्ब रुपैयाँसम्म ह्याक हुन सक्ने भन्ने कुरा पक्राउ परेका एजेन्टहरूबाट थाहा हुन आएको छ,’ बुधवारको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकूल थापाले भने, ’बेलैमा अनुसन्धान नगरेको भए ५ अर्बसम्म ह्याक हुनसक्ने अवस्था रहेछ भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
कृषि विकास बैंककै एक कर्मचारीको आईडी प्रयोग गरी ११ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख रूपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार तीमध्ये करीब ६० लाख रुपैयाँ निकालिएको थियो। पैसा निकाल्ने र त्यसमा सहयोग गर्नेहरूलाई निकालिएको पैसासहित नियन्त्रणमा लिइएको दाबी प्रहरीको छ। यसरी कृषि विकास बैंकको लाहान शाखाका कर्मचारीको आईडी प्रयोग गरी पैसा चोरिएको घटना आइतवारको हो।
पक्राउ परेकाहरूलाई बैंकिङ कसूरअन्तर्गतको संगठित अपराधमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामा बैंकका कर्मचारीहरू छैनन्। यद्यपि बैंकसँग विभिन्न किसिमको कारोवार गरिरहेका व्यक्तिहरू भने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।