बाँके– हिन्दूहरुको महत्वपूर्ण पर्व दशँैको बाँकेमा छुट्टै विशेषता छ। यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन्। समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै छ।
टोलको सौन्दर्यकरण गरेर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशँै अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्दछ। यसरी राखिएको देवीका मूर्ति द्वादशीका दिन जिल्लाको राप्ती नदीमा विसर्जन गरिन्छ। नवदुर्गा भवानीको आकर्षक मूर्ति भारतबाट ल्याउने गरिएको छ। नेपालगञ्जका केही मूर्तिकारले पनि केही वर्षयता मूर्ति बनाउने गरेका छन्। नेपालगञ्जका मूर्तिकारलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ।
कलात्मक दुर्गा भगवतीको मूर्ति दशैँको करीब एक महीना अघिदेखि नै बनाउने गरेको मूर्तिकार बताउछन। मूर्तिकार अङ्कित मिश्रले ८० वटा मूर्ति बनाउने जिम्मा लिएको बताउछन्। ‘मूर्ति बनाउन समय धेरै लाग्ने भएकाले सक्ने जति मात्र जिम्मा लिने गरेका छौँ’, मिश्रको भनाइ छ। जिल्लाको गाउँबस्तीमा र नेपालगञ्जको टोलटोलमा राखिने नवदुर्गा भवानीको मूर्तिमा व्यक्तिगत र सामूहिक पूजापाठ, यज्ञ, होमलगायत नवरात्रि विशेषका कर्मकाण्ड हुने पण्डित भीमप्रसाद आचार्य बताउछन्।
यो जिल्लामा दशैँ को अर्को विशेषतामा नवरात्रि (घटस्थापना) देखि रामलिला मञ्चन गर्नु पनि हो। भगवान् रामको जीवन चरित्रमा आधारित रामलिला दशैँको टीकाका दिन रावणको बध गरेर समाप्त हुने गर्दछ। रामलिला प्रदर्शनका लागि रामलिला व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ। सो समितिले श्रद्धालु भक्तजनबाट चन्दा सङ्कलन गरेर रामलिला आयोजना गर्दै आएको समितिका कार्यवाहक अध्यक्ष सन्तोष कनोडियाले बताएका छन्।
यसैगरी, पर्वमा सामाजिक सद्भाव कायम राख्न सक्नु बाँके जिल्लाको अर्को विशेषता पनि हो। दशैँमा धार्मिक सद्भाव कायम गर्न नेपालगञ्जका हिन्दू, मुस्लिम, सिख र इसाइ धर्मगुरुले सबैमा अपिल पनि गरेका छन्। स्थानीय प्रशासनले पनि दशैँका लागि सुरक्षा व्यवस्था सुदृढ बनाएको दाबी गरेको छ। आम नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपालगञ्जमा सस्तो बजार पनि सञ्चालनमा ल्याइने गरिएको छ।
‘यो वर्ष पनि व्यापारीका विभिन्न संस्थासँग मिलेर नेपालगञ्जमा दशैँ सस्तो बजार खोल्ने तयारी गरिएको छ’, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले राससलाई भनेका छन्। दशैँ नजिकिएसँगै यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्न थालिएको छ । मन्दिर आउजाउ गर्ने पश्चिम र पूर्वतर्पmको दुवै बाटोलाई फराकिलो बनाइएको छ। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले मन्दिर बाहिरका पसलको समेत उचित व्यवस्थापनको काम शुरु भइसकेको बताएका छन्।
उनका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ। सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउछन्। ‘माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ’, उनले भनेका छन्।
बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि मिलाइएको छ। दशैँका बेला बाँके जिल्लाका विशेषतः मधेशी समुदायका व्यक्तिले बागेश्वरी माताबाट आफ्नो मनोकामना पूरा गराउन जिब्रो छेड्ने गर्दछन्। सङ्कल्प गरेकाले जिब्रो छेड्ने गरेको मूल महन्त योगीले बताएका छन्। (रासस)