काठमाडौं – राष्ट्रियसभा अन्तरगत रहेको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले केही समय पहिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएर सोधेको थियो, ‘हाम्रा राष्ट्रिय महत्वका दस्तावेजहरु खोई ? कहाँ हराए ?’समितिले मन्त्री ज्ञवालीलाई राष्ट्रिय महत्वका दस्तावेजहरु रेकर्डमा नभेटिनुको कारणबारे सोधखोज गर्यो।
राष्ट्रियसभाको सो समितिका एक सदस्य भन्छन् ‘नेपालसँग सुगौली सन्धि, सन १९५० को नेपाल–भारत मैत्री सन्धि, ब्रिटिस–नेपाल सन्धि लगायतका महत्वपूर्ण दस्ताबेजहरुको सक्कलप्रति रेकर्डमा नभेटिएकाले यसबारे हामीले मन्त्रीलाई बोलाएर सोधखोज गरेका हौं।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदले दिएको जानकारी अनुसार मन्त्री ज्ञवालीले त्यस्ता महत्वपूर्ण दस्तावेजहरु पूर्वराजाले दरबारबाट बाहिरिँदा आफैंसँग लिएर गएको हुन सक्ने समितिलाई जवाफ दिएका छन्। मन्त्री ज्ञवालीको जवाफ उधृत गर्दै राष्ट्रियसभाका सांसद भन्छन्, ‘पूर्वराजाले आफैंसँग लगे होला भन्ने जवाफ मन्त्रीज्यू भन्छन्।’
ती सांसदका अनुसार समितिको सोधनीमा मन्त्री ज्ञवालीले भनेका थिए, ‘यी सन्धिहरु राजासँग राजदरबारमा थिए होला, उनी जाँदाखेरि लिएर गएजस्तो छ, सरकारको कुनै अभिलेखमा भएन।’ राष्ट्रिय महत्वका दस्तावेजहरुको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समितिले परराष्ट्र मन्त्री ज्ञवालीका साथै शिक्षामन्त्री गिरिराजमणि पोखरेल र कानूनमन्त्री भानुभक्त ढकाललाई पनि बोलाएर यसबारेमा सोधखोज गरिसकेको जनाएको छ।
तर, तीनैजना मन्त्रीले यी दस्तावेजको ‘ओर्जिनल कपी’ नभेटिएको जवाफ संसदीय समितिलाई दिएका छन्। यसैवीच नेपालका राष्ट्रिय महत्वका दस्तावेजहरु लण्डनको म्युजियममा छ भन्ने तथ्य फेला परेको भन्दै सरकारले ती दस्तावेज नेपाललाई हात लगाइदिन बेलायतमा पत्राचार गरेको छ। साथै भारतको कोलकातामा रहेको पुस्तकालयमा पनि नेपालले पत्राचार गरेको छ।
नक्शा पनि छैन, पुराना कानून पनि छैनन्, ऐतिहासिक सन्धि सम्झौताहरु जस्तै नेपालको पुरानो नक्सा पनि अभिलेखालयमा नभेटिएपछि संसदीय समितिले यसबारे चासो दिएको स्रोतले बतायो ।संसदीय समितिका एक सदस्य भन्छन्, ‘राष्ट्रिय महत्वको दस्तावेज भनेको नक्शा पनि हो । तर, ग्रेटर नेपालको नक्शा पाइएन।
नेपालको अर्काइभमा आफ्नो देशको पुरानो नक्शा मात्र नभई पुराना कानूनहरुको अर्काइभ समेत नरहेको संसदीय खोजविनबाट खुलेको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपालको उत्पति भएदेखि अहिलेसम्मका सबै कानूनहरु खोई ? भनेर प्रश्न गर्दा ती सामाग्री न अभिलेखालयमा, न त कुनै पुस्तकालयमा फेला परेको सांसद बताउँछन्।’