काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारबाट १०० रुपैयाँको नयाँ नोट बजारमा सार्वजनिक गरेको छ। सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा ल्याईएको हो। नयाँ नोट सार्वजनिक गर्दा सर्वसाधारण नझुक्किउन् भनेर राष्ट्र बैंकले नयाँ नोटको विशेषताबारे सूचनासमेत जारी गरेको छ।
नयाँ नोटको आकार, प्रकार र रङ पहिलेकै छ। नयाँ नोटमा केही नयाँ चित्र र शब्द राखिएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ। यसैगरी, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ।
नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ। नोटलाई सीधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ।