काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल लगायत आठ जिल्लाका इन्चार्जहरूले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता मातृका यादवमाथि छानविन गर्न माग गरेका छन्।
प्रदेशमा आन्तरिक द्वन्द्व बढाएको पार्टीकै कार्यक्रममा आक्रमण गर्न कार्यकर्तालाई उत्प्रेरित गरेको भन्दै नेपाल र यादवमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका हुन्। साह र प्याकुरेल नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्षका नेता हुन्।
अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई भेटेर उनीहरूले नेपाल यादवपक्षका अरू नेताबारे पनि रिपोर्ट गरे। मंगलबार बिहान साढे ८ बजे दाहाल निवास खुमलटार पुगेर आफूहरूले नेपाल र यादवमाथि छानविन गर्न मागसहितको रिपोर्ट पेश गरेको प्रदेश २ का एक नेताले बताए।
आफूहरूले बुझाएको रिपोर्टमा नेपाल पक्षका केन्द्रीय सदस्य गोपाल ठाकुर र जगत यादवलाई पदबाट हटाउन, तिलप्रसाद साह र रामचन्द्र झालाई सचेत गराउन पनि माग गरेको ती नेताले बताए। त्यस्तै नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई प्रदेश सहइन्चार्जबाट हटाउनुपर्ने उनीहरूको रिपोर्टमा उल्लेख छ।
नेपाल र यादव पक्षका नेताले जिल्ला पदाधिकारीको शपथग्रहण खलबल्याएको, हातपात गरेको, पार्टी निर्णयविरूद्ध नाराबाजी र सभा गर्दै हिँडेको आरोप ओली/दाहाल पक्षका नेताहरूको छ। नेकपाका अध्यक्षद्वयले सक्रिय कार्यकर्ताहरूभन्दा आफ्ना नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको भन्दै नेपाल र यादवपक्षले असन्तुष्टि जनाउँदै आएका थिए।
भदौ २४ मा पदाधिकारीको सपथग्रहण कार्यक्रममा दुवै पक्षबीच विवाद चर्किएर झडप हुँदा प्रहरीले नियन्त्रण गर्नुपरेको थियो। त्यसपछि भदौ ३१ गते नेपाल पक्षका १६ नेताले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ प्रदेश अध्यक्ष प्रभु साह, प्रदेश २ कै इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कारबाही गर्न माग गर्दै पार्टीको केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका थिए।
उनीहरूले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको आरोप १६ नेताहरूको थियो।