काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षको पदमा नारायणमान बिजुक्छे (रोहित) पुनः अध्यक्ष बनेका छन्। नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिएको हो।
फरक राजनीतिक छवि बनाउँदै आएको नेमकिपा सन् १९७५ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट जन्मिएको थियो। पार्टी एकीकरणदेखि अहिलेसम्म पार्टीमा रोहितको एकछत्र राज रहँदै आएको छ। सातौं महाधिवेशनपूर्व बिजुक्छेले अध्यक्षमा अरू नै अनुहार अघि सार्ने चर्चा थियो। तर, ४४ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका बिजुक्छे पुनः अर्को कार्यकालका लागि अध्यक्षमा चुनिएका छन्।
सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ। नेमकिपाको अनुसार नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन्। त्यस्तै, सदस्यको सूचीमा सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर रहेका छन्।
नेमकिपाले कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएकाे जानकारी दिएकाे छ। वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव रहेका छन्। नयाँ कार्यकालका लागि चयन भएका अध्यक्ष, सदस्यलगायत सबैले सोमबार नै शपथग्रहण गरेका छन्।
सम्पन्न महाधिवेशनले समसामयिक राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रस्तावहरू पनि पारित गरेको छ। नेमकिपा स्रोतले महाधिवेशनले जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको जनाएको छ। बिजुक्छेले प्रस्तुत गरेको प्रस्ताव पास गर्दै नेमकिपाले जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा अघि सारेको छ।