काठमाडौं – राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट गर्न सकिने भएको छ। कार्यालयको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो।
कार्यालयका प्रवक्ता तथा सहसचिव यमलाल भुसालका अनुसार यो कक्षबाट आयोजना प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव तथा सचिवहरुले ‘लाइभ’ कुराकानी र छलफल गर्न सक्ने छन्। गौरवका अयोजनाहरु एक्सन रुममै बसेर हेर्न सकिने र आवश्यक परेको खण्डमा प्रधानमन्त्री तथा सचिवहरुले आयोजना प्रमुखसँग यसैमार्फत सीधै रिर्पो्टिङ लिन सक्ने भुसालले जानकारी दिए।
गत जेठ १५ गतेदेखि उक्त कोठा सञ्चालनमा आएको थियो। तर, आयोजनाहरुको लाइभ फुटेज कनेक्ट गर्न बाँकी थियो। एक्सन रुममा तीनवटा ठूला–ठूला मनिटरहरु जडान गरिएको छ। यो कक्षसँग जोडिने गरी प्रदेशका मुख्यमन्त्री तथा गौरवका आयोजना प्रमुखकोमा ‘टेलिप्रिजेन्स सिस्टम’ (भिडियो कन्फरेन्सिङ सिस्टम) जडान गरिएको छ। इन्टरनेटका माध्यमबाट यसमा भिडियो कुराकानी गरिन्छ।
भुसालले आयोजनाहरुको प्रगति हेरेर आवश्यक निर्देशन दिन प्रधानमन्त्रीका लागि यो कक्ष एकदमै लाभदायक हुने जनाए। कार्यालयले आफ्नै सर्भर राखेर तयार गरिएको यो कक्षलाई ठूला आयोजनाको भौतिक प्रगति हेर्न र परेका समस्याको साबधान गर्न उपयोग गरिने जनाइएको छ।
यो कक्षसँग राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजना जोडिएका छन्। आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिएको छ। यहाँ जोडिने सीसी क्यामेराको लाइभ फुटेज २४ घण्टा नै प्रधानमन्त्री कार्यालयको यो सिस्टममा आइरहन्छ। ‘चाहेको बेला हामी आयोजनाको अनुगमन कार्यालयमा बसेर गर्न सक्छौं,’ उनले भने, ‘यो पछि आयोजनाहरुमा हुने कार्य सम्पादन सुध्रन्छ भन्ने अपेक्षा छ।’
जलविद्युत, खानेपानी र सिञ्चाइँ आयोजनाको हेडवर्क्स, टनेल, विमानस्थलहरुको मुख्य निर्माणस्थल, राजमार्गहरुको मुख्य खण्डमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिएको छ। प्रधानमन्त्रीले चाहेका बेला प्रत्यक्ष रुपमा आयोजनाको कामको निरीक्षण एक्सन रुमबाटै गर्न सक्छन्।
यो रुमसम्म कनेक्ट हुने राष्ट्रिय गौरवका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीले आफ्नै मोबाइलमै पनि एक एपको साहेताले हेर्न सक्नेछन् प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले जानकारी दिए। मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिञ्चाइ आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिएको छ।
यस्तै रानीजमरा सिञ्चाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्रा्िष्ट्रय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको प्रत्यक्ष निगरानी यसै सिस्टमबाट गर्न थालिएको छ। हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन र समस्यामा छन्।
अन्तरसरकारी समन्वय नभएको कारण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन्। यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी यो प्रणाली जडान हुँदैछ। आवश्यक पर्दा प्रधानमन्त्रीले अब प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई यहीँबाट सम्बोधन गर्न सक्नेछन्, मुख्य सचिवले प्रदेशका सचिवहरुसँग पनि कुराकानी गर्न सक्नेछन् र अन्तरसरकारी समन्वयलाई बलियो बनाउन यो उपयोगी हुने अपेक्षा छ।