काठमाडौं — पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ। प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गरे।
आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्या्दित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए।
सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको जानकारी दिए। नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासङ्घको पनि स्वामित्व रहेको उल्लेख गरे।
स्वर्णजयन्तीका अवसरमा प्रेस काउन्सिलको निमन्त्रणामा साइप्रस, म्यान्मा, श्रीलङ्का, अफगानिस्तान, भारत र म्यान्मा प्रेस काउन्सिलका पदाधिकारीसमेत आइपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा राष्ट्रपति निवास शीतल निवासमा विविध कार्यक्रम गरी स्वर्णजयन्ती मनाउन थालिएको छ।