बागलुङ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँ जिल्लाका नेता अमृत सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङले व्यास नगरपालिका–१४ का ३१ वर्षीय सापकोटालाई भदौ २० गते गिरफ्तार गरेको थियो। बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट १० हजार धरौटीमा छुटे लगत्तै प्रशासनमै आत्मसमर्पण गरेका थिए।
सापकोटाले प्रजिअ क्षत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी गुल्म बागलुङका सहायक प्रहरी निरीक्षक किशन केसी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्मालगायतका नेता तथा मानव अधिकारकर्मीको रोहबरमा लिखित रूपमै पार्टी परित्यागको घोषणा गरेका हुन्।
सापकोटाले लामो समयसम्म नेकपाको सक्रिय राजनीति गर्दै आएका थिए। तर पछिल्लो समय पार्टीको गतिविधिमा सहभागिता जनाउन छोडेका छन्। बागलुङमा यसअघि प्रशासनमै जिल्लाको ढोरपाटन नगरपालिकाका नेकपा सम्वद्ध हरिबहादुर कुवरले आत्मसमर्पण गरेका थिए।