धम्बोझी —विशेष गरी थारु समुदायमा पाइने ‘सिकल सेल’ एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले पहिलोपटक नमूना परियोजना शुरु गरेको छ। बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलोपटक ‘सिकल सेल’ रोगसम्बन्धी अभियान सञ्चालन गरेको हो।
थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै परिवार नै थलिने र आर्थिकरुपमा पनि चरम अभाव झेल्ने गरेको देखेर यसका विरुद्ध अभियान थालेको थारुहरुले बताउँछन्। यस नगरपालिकाले २०७५ चैत ९ गतेदेखि यो अभियान शुरु गरेको हो। नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको रहेको यस रोग नियन्त्रणका लागि आफूले एक वर्षअघि नै अभियान शुरु गरेको बताए।
नगरपालिकाभित्र बसोवास गर्ने सबै थारु समुदायको घरघरमा गएर रगत परीक्षण गराइएको छ। नगर प्रमुख थारुका अनुसार एक वर्षमा २४ हजारभन्दा बढीको रगत परीक्षण भएको छ। यो अभियानअन्तर्गत नगरपालिकाभित्र रहेका एक वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षा गरिएको थियो। रगत परीक्षणपछि अब दोस्रो चरणमा सामुदायिक परामर्श अभियान पनि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट विज्ञ टोली झिकाई घरघरमा गएर परीक्षण गराइएको उनले बताए।
यसअघि लामो समयसम्म थारु समुदायमा मात्र यो रोग लाग्ने थाहा भइसकेको थिएन। अहिले पनि मानिस उपचारका लागि कहिले नेपालगञ्ज, काठमाडौँ, भारतको लखनउ र नयाँदिल्ली धाउनुपर्ने अवस्था छ। लामो समय उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण सिकलसेल एनिमियाबाट पीडित व्यक्तिले लाखौँ रकम खर्च गर्नुपर्ने अवस्था थियो। अहिले नगरपालिकाले घरघरमै विज्ञको टोली पठाएपछि नगरवासी निकै खुशी भएका छन्।
नगर प्रमुख थारु अहिले यसका बारेमा आफ्नो नगरपालिकाभित्रका विद्यालयमा पाठ्यसामग्री राखेर अध्यापन नै गराउने व्यवस्था गरिएको बताउँछन्।। यस अभियानअन्र्तगत समुदायमा आधारित स्वास्थ्य जाँच, सिकल सेल जाँच गर्ने, रगत परीक्षण र स्वास्थ्य जाँचपछि समुदायमा आधारित परामर्श दिने गरिएको छ।। सिकल सेल एनिमिया रोगसम्बन्धी सचेतना बढाउन स्थानीय विद्यालयमा पाठ्यसामग्री तयार पारेर ९ र १० मा पढाइ नै शुरु गरिएको छ। नौ महीना पुगेपछि सबै बच्चालाई दादुरा खोप लगाउँदा अनिवार्य सिकल सेल परीक्षण गर्ने र नगरपालिकाभित्रका प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाटै सिकल सेल एनिमिया रोगको उपचार शुरु गरिएको नगर प्रमुख थारुले जानकारी दिए।
यस क्षेत्रका शिक्षक, स्वास्थ्यकर्मीलाई समेत सिकल सेलका बारेमा अभिमुखीकरण तालीम दिनेसमेत गरिएको छ। स्थानीय स्वास्थ्य केन्द्रमा नै यो रोगको परीक्षण गर्ने प्रवन्ध मिलाइएको नगरपालिकाले जनाएको छ। उनले विद्यालयको पाठ्यक्रममा नै यो विषयमा पढाउने व्यवस्था गरिएकाले अब आफ्नो नगरपालिकाभित्र धेरै हदसम्म यो रोग नियन्त्रणमा आउने आशा व्यक्त गरे।
तराईका २४ जिल्लामा थारु समुदायको बसोबास रहेको छ। राष्ट्रिय जनगणनाअनुसार नेपालमा थारु समुदायको जनसङ्ख्या १८ लाख जति छ। कुनैबेला यस क्षेत्रमा मलेरियाको ठूलो प्रभाव रहेको थियो। मलेरियासँग लडेर ४०÷५० पुस्तादेखि निरन्तर बसोबास गरेका थारु समुदायको कोषमा मलेरियासँग लड्दालड्दै नयाँ परिवर्तन आएको र जीवनमा आएको नयाँ परिवर्तनले ‘सिकल सेल एनिमिया’ को सङ्क्रमण भएको हुनसक्ने विज्ञको भनाइ छ।
सिकल सेल एनिमिया भएका बिरामीबाट उनीहरुका सन्तानमा वङ्शाणुगतरुपमा सर्दै जाँदा यो अवस्था आएको हो। यदि आमाबुबा दुवै जनालाई सिकल सेल एनिमिया रोग लागेको खण्डमा बच्चामा यो रोग हुने पक्का हुन्छ। भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख डा श्यामसुन्दर यादवका अनुसार यो वंशाणुगतरुपमा सर्ने रक्तअल्पतासम्बन्धी रोग हो।
स्वस्थ्य मानिसको शरीरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका बिरामीको रक्तकोष हँसिया आकारको हुन्छ। रक्तकोषको आयु सामान्यतया १ सय २० दिन हुन्छ तर गोलो हुनुपर्ने रक्तकोष हासिया आकारको हुने र त्यो रगतमा दौडन नसक्ने हुँदा त्यस्ता बिरामीका रक्तकोष २०÷२२ दिनमै मर्छन्। शरीरका अङ्गमा अक्सिजन र पोषण पुग्दैन र त्यहाँको तन्तु मर्छ। त्यसपछि मांसपेशी, जोनी र छाती दुख्ने समस्या देखिन थाल्ने चिकित्सकहरु बताउँछन्।
सिकल सेल एनिमिया रोगका रोगीमा देखिने प्रमुख समस्या भनेको शरीरमा रगतको कमी हुनु हो। कुनै सामान्य सङ्क्रमण हुँदा पनि अन्य बिरामीको तुलनामा बढी असर देखिने गर्दछ। समयमै उपचार नपाए बिरामीको मृत्युसम्म हुनसक्छ। यो रोगका कारण थारु समुदायमा थुप्रैको कलिलो उमेरमै मृत्यु भएको छ।
बाँचुञ्जेल उपचार गरिरहनुपर्ने अवस्था रहने हुँदा सिकल सेल एनिमिया रोग थारु समुदायका लागि खतरा बनेको छ। भेरी अस्पतालका डा श्यामसुन्दर यादवका अनुसार सिकल सेल एनिमिया भए नभएको यकिन गर्न रगतको हिमोग्लोविन इलेक्ट्रोफोसिसको परीक्षण गर्नुपर्छ। सिकल सेल प्रभावित पश्चिम नेपालका सरकारी अस्पतालमा अझै यो सुविधा उपलब्ध छैन। महङ्गो शुल्क तिरेर काठमाडौँ वा भारतको नयाँदिल्ली, हरियाणाका निजी प्रयोगशालामा पठाउनुपर्छ।
डा यादवका अनुसार सिकल सेल एनिमिया रोग भएका बिरामी पूर्णरुपमा निको हुन गाह्रो हुने भएपनि नियमितरुपमा औषधि सेवन गरेमा रोगलाई नियन्त्रणमा राखेर आयु लम्ब्याउन सकिन्छ। त्यस्ता बिरामीको स्वास्थ्य अवस्थाअनुसार एक महीनादेखि पाँच वर्षको अवधिमा नियमितरुपमा रगत चढाइरहनुपर्छ। (रासस)