बझाङ — जिल्लाको केदारस्युँ गाँउपालिका — ७ को वडा कार्यलयमा शनिबार राति आगलागी हुँदा कागजातलगायत धेरै सामाग्रीहरु जलेर नष्ट भएका छन्। वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा नम्बर ७ का वडाध्यक्ष प्रेम बोहराले बताए।
शनिबार मध्य रातमा नचिनेका मानिसहरुको समूहले वडा कार्यालय तोडफोड गरी कार्यालयको आगजनी गरेको धामीले बताए। आफू शनिबार नवज्योति प्राविको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउँदै वडाध्यक्ष धामीले कसले र किन जलायो भन्ने कुरा थाहा नभएको बताए।
स्थानीय बासिन्दाका अनुसार गाँउकै एक व्यक्तिले वडा कार्यालयमा आगजनी गराएको बताएका छन्। गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका सातै आगजनी गरेको स्थानीयको आरोप छ। उनीहरुका अनुसार आरोपित धामीले वडा कार्यालयको कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन्। स्थानीयका अनुसार आगजनीबाट वडा कार्यालयमा झण्डै १५ र २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएको घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन्। अहिले आफूहरुको यसरी आगजनी गर्ने कुनै कार्यक्रमहरु नभएको बताउँदै उनले ती व्यक्ति पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनी निष्कृय रहेको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेको बताए। वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो।