विराटनगर – प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा आइतबार मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ।
प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन।नेपाली कांग्रेसले भने विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो। कांग्रेस सांसदको नाराबाजीबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थेबेलाई समय दिएका थिए।
सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको थियो। कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने लगायतका प्रावधानमा असहमति जनाएको छ।
यसअघि गत सोमबार र मंगलबार पनि कांग्रेसले विधेयक सच्याउन माग गर्दै संसद अवरोध गरेको थियो। कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए। तर यसबीचमा पनि सहमति नभएपछि प्रदेशसभाले कांग्रेसको अवरोधकै बीच विधेयक अघि बढाएको हो।