काठमाडौं – अर्को महिना जापानको राजकीय भ्रमणमा जाने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी भईरहेको छ। जापानका सम्राट नारुहितोले राष्ट्रपति भण्डारीलाई जापान भ्रमणको निमन्त्रणा दिएका छन् र राष्ट्रपति भण्डारी जान इच्छुक देखिएपछि सरकारले भ्रमणको तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालय स्रोतले भ्रमणको तयारीबारे पुष्टि गरे पनि भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा सरकारको भएको बताएको छ। अक्टोबर अन्तिम साता र नोभेम्बर पहिलो साताबिच राष्ट्रपति भण्डारीको जापान भ्रमण हुने स्रोतले जनाएको छ।
सरकारी अधिकारीहरुका अनुसार अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने सम्भावना रहेकाले राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति राष्ट्रपति सिको नेपाल भ्रमण पश्चात तय गरिने छ्। एक उच्च अधिकारीले भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने बताए।
सन् १९८७ मा जापानका सम्राट नारुहितो युवराज भएकै बेला नेपाल भ्रमण गरेका थिए। नारुहितोका नेपालसँग विशेष लगाव रहेको बताइन्छ। जापान र नेपालको राजपरिवारबीच धेरै पुरानो सम्बन्ध र भ्रमण आदान प्रदान हुने गरे पनि नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो।
यसअघि प्रथम राष्ट्रपतिले स्वास्थ्योपचारको लागि जापानको भ्रमण गरेका थिए।