सिरहा– समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले बताएका छन्।
सिरहा स्थित गोलबजारमा भएको कार्यक्रममा मन्त्री यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार विराधी आन्दोलन चलाउनुपर्ने बेला भएकाले यसका विरुद्ध नागरिक र युवा समाजले आन्दोलन गर्नुपर्ने वेला भएको दावी गरे।
उनको भनाई अनुसार नेपालमा भ्रष्टाचारको जरा यति गडियो की त्यसलाई उखेल्न आन्दोलनकै बाटो अपनाउन आवश्यक छ। मन्त्री यादवले भने, ‘युवा नागरिक समाज भ्रष्टाचार विरोधी आन्दोलन चलाउनु म पनि त्यो आन्दोलनमा सहभागी हुन्छु।’
यसै क्रममा मन्त्री यादवले आफूलाई मिडियाले भ्रष्टचारी भनेको कुरामा कुनै सत्यता नरहेको स्पष्टिकरण दिए। उनले भने, ‘मेरो बद्नाम गर्ने नियतले भ्रष्टाचार गरेको हल्ला फैलाएको हो, त्यसमा कुनै सत्यता छैन।’
मन्त्री यादवले अरुको देशबाट सामान भित्राएर व्यापार गरेरमात्र मुलुक समृद्ध नबन्ने भन्दै आफ्नै देशमा सामान उत्पादन गरेमात्र मुलुक समृद्ध बन्ने बताए। गोलबजारलाई औद्योगीक करिडोरको रुपमा विकास गर्न सरकारसँग कार्यक्रममा नेकपाका नेता लिलानाथ श्रेष्ठले माग गरे।
उनले सिरहाको गोलबजार सवै हिसावले औधोगिक विकास गर्न सकिने स्थान भएकोले केन्द्रीय सरकारको नीति तथा योजनामा गोलबजारलाई औधोगिक करिडोर निर्माण गर्ने कार्ययोजना राख्न माग गरे।