विराटनगर : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन्। व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए। पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन्।
संविधान दिवसको अवसरमा जारी सन्देशमा पनि उनले केही अराजक तत्वले व्यवस्थाप्रति प्रहार गरेको बताएका थिए। आइतबार विराटनगर पुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए। यद्यपि, अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको उनले बताए।
‘अहिले नै राज्य व्यवस्थाप्रति कुनै प्रकारको खतरा छैन’, विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर जुनखालको गतिविधि देखापर्न थालेको छ, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ।’
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गरेका छन्।
अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताएका छन्। अध्यक्ष प्रचण्डले भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको पनि बताए। उनले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेको भन्दै नयाँ शिराबाट गति दिने कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी गरे।
अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनबारे प्रश्न नसोधिदिन सञ्चारकर्मीसँग आग्रह गरे। ‘मन्त्रिमण्डल पुर्नगठिन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूको कुरा हो अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो कुरा नसोधिदिनुहोस् । मलाई यो कुराले हैरान पारेको छ।’ सञ्चारकर्मीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिए।
प्रधानमन्त्रीले नर्मल काम गर्न थालेको भन्दै उहाँको स्वास्थ्य ठीक नभएको भन्ने प्रचार सही नभएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको बिषयमा छलफल भइरहेको बताए।
तर, उनले हिजोका दिनमा कालो दिवस भन्नेहरुमा न समर्थन न विरोध भन्ने ठाँउमा भने आएको बताए। उनले एसिया प्यासिफिक समिटमा नेपाल जाने भनेर कहिल्यै निर्णय नभएको स्पष्ट पारे।
‘संविधान जलाएको विषयमा छलफल भइरहेको छ।’