काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ। रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको थियो।
मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले राससलाई जानकारी दिए। पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौँ आएको छ।
सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मनुभएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गर्नुभएको छ। दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले जानकारी दिए।
पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गरेका हुन्। विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो। भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले बताए।(रासस)