काठमाडौं– नेपालको संविधान २०७२ जारी भएको आज ४ बर्ष पुगेको छ। संविधान सभाबाट संविधान जारी भएको आजको दिनलाई सरकारले ‘संविधान दिवस’ घोषणा गरेको थियो।
सरकारले यसअघि नै संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिसकेको छ। आज संविधान दिवस मूल समारोह समितिले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत उच्चस्तरिय व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ।
सो समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ। त्यस्तै सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि बताइएको छ। अन्य सरकारी तथा निजि संघसंस्थाहरु, विभिन्न निकायहरुले पनि संविधान दिवसको अवसरमा विविध कार्यक्रम गर्ने तयारी गरेका छन्।
यद्यपी संविधानले सबै जनतालाई समेट्न नसकेको भन्दै केहि असन्तुष्ट राजनीतिक दल तथा संगठनहरुले भने संविधान दिवसको विरोध गर्दै कालो दिनको रुपमा मनाउने बताएका छन्।