इलाम — इलाममा साहित्य महोत्सवको तयारी पुरा भएको छ। महोत्सव असोज ३ गतेदेखि दुई दिनसम्म चल्ने छ। इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार महोत्सव साहित्य र पर्यटनका लागि महत्वपूर्ण हुने बताएका छन्।
कार्यक्रममा दुई सयको हाराहारीमा साहित्यकार, कलाकार, विश्लेषकदेखि दलका नेता सहभागी हुनेछन्। महोत्सवमा विभिन्न सत्रमा छलफल हुनेछ। पर्यटकीय जिल्ला इलामलाई कला, साहित्य, संस्कृतिको चिन्तन स्थलको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष थाम्सुहाङको भनाइ छ।
उद्घाटन समारोहमा प्रा.डा. संजीव उप्रेतीले आलोचनात्मक चेत र लोकतन्त्रका विषयमा आधा घण्टा बोल्नेछन्। सत्ता कि प्रतिपक्षका विषयमा श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जीलसँग कवि विमल वैद्यले बहस गर्नेछन्। ’अ’ मा अल्झेको इलामको विषयमा लेखक, पत्रकार केदार शर्माले युद्यप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बरालसँग बहस गर्ने कार्यक्रम छ।
राजन मुकारुङ, मिश्र वैजयन्ती, उज्ज्वल प्रसाईसँग महेश पौडेलले मानक माथि प्रश्न शीर्षकमा बहस गर्नेछन्। जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासीसँग समीरबाबु कट्टेलले बहस गर्नेछन्। किन बिक्न छोड्यो पुस्तक ? शीर्षकमा बालिका थपलियाले प्रेम ओझा, प्रकाश बुढाथोकी, बीना थिङसँग बहस गर्नेछन्। पर्यटनको आयामका विषयमा इलामका अग्रज पत्रकार धर्म गौतमले हरिश्चन्द्र राई, केशव धौराली, डा.देवी क्षेत्री दुलाल र चन्द्र घिमिरेसँग बहस गर्नेछन्।
दोस्रो दिन उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता जस्ता पछिल्ला साहित्यिक आन्दोलनका बारेमा मुनाराज शेर्माले चर्चा गर्ने कार्यक्रम छ। निर्माणको जिम्मा शीर्षकमा सुरेश नेम्बाङ, रवि सिंह र दिपक गौतमसँग सन्तोष नेम्बाङले बहस चलाउने छन्। करोड क्लब र अफवाहका विषयमा अन्वेश थुलुङ राईले दयाहाङ राई, यज्ञश, ब्रजेशसँग सिनेमा चर्चा गर्नेछन्।
नेपाली साहित्यमा मुन्धुम/मुन्दुम विषयमा भूपालराई र धर्मेन्द्र विक्रम नेम्बाङले गणेशकुमार राईसँग बहस गर्ने कार्यक्रम छ। गीतको दुःखका बारेमा गणेश रसिक, कोमल निरौला, गुरुङ सुशान्तसँग युवीर चेम्जोङले छलफल गर्नेछन्।
सुरेन्द्र राईले प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वास्तिमा खड्कासँग सिनेमा बहस गर्नेछन्।कार्यक्रमको अन्त्यमा पत्रकार बसन्त बस्नेतले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र लेखक खगेन्द्र संग्रौलासँग गणतन्त्र कोबाट खतरामा छ विषयमा बहस गर्नेछन्।
इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत संस्थासँगको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको हो।