काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघीय महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री यादवसहितको टोली अमेरिका जान लागेको मन्त्रालयले जनाएको छ।
सेप्टेम्बर २२ र २३ मा अमेरिकाको न्यूयोर्कमा हुन लागेको ‘युएन जनरल एसेम्ब्ली हाई लेभल मिटिङ अन युनिभर्सल हेल्थ कभरेज’ नामक बैठकमा मन्त्रीसहितको टोलीले सहभागिता जनाउने छ। ‘बैठकले सदस्य राष्ट्रहरूमा स्वास्थ्यको सर्वब्यापी पहुँच सुनिश्चित गर्नका लागि राजनीतिक तथा आर्थिक प्रतिवद्धता वृद्धि गर्न तथा स्वास्थ्यमा दिगो लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ’, मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जारी गरेको विज्ञाप्तिमा भनिएको छ।
यादव नेतृत्वको टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरी र यादवका निजी सचिव अमरेन्द्र यादव छन्। मन्त्रीसहितको टोली यसका अलावा अन्य विभिन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ। टोलीले ‘अपरच्युनिटिज् एन्ड च्यालेन्जेज् टुवार्ड्स यूएचसी इन लिस्ट डेभलप्ड कन्ट्रिज’ विषयक अतिरिक्त कार्यक्रमको नेतृत्वसमेत गर्नेछ।
यसका लागि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको विज्ञप्तिमा उल्लेख छ। यादवसहितको टोली राति साढे ९ बजे अमेरिकाका लागि प्रस्थान गर्नेछ।