काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता नजनाए संसद चल्न नदिने बताएको छ। संसद बैठक केहीबेरमा बस्ने बताएको छ ।
त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले आफूले दिएको जाहेरी अनुसार कारबाही गर्ने प्रतिवद्धता सरकारबाट आउनुपर्ने अडान अघि सारेको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले भने, ‘जुन जाहेरी दर्ता भएको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता आउनुपर्याे, आएन भने संसद चल्दैन ।’
कांग्रेस सोमबार नै संसद सञ्चालन गर्न सहमत भएको थियो। तर सत्तारुढ नेकपाका सांसदले आरोपित वडाध्यक्ष निर्र्दाेष भएको भन्दै उनमाथि करबाही स्वीकार्य नहुने बताएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए।
राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ। वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी लिएको छ।
प्रहरीले शुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन। कांग्रेसले संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो। तर सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्षलाई कुनै हालतमा कारबाही हुन नदिने बताएपछि कांग्रेसले संसद फेरि अवरुद्ध गरेको छ।