काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण बुधबार बिहान पहिरो गई एक बालकको मृत्यु भएको छ। काभ्रे जिल्ला पाँचखाल–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको हो।
बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो।
घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए। बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए।
उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल –४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो। (रासस)