काठमाण्डौं — संघीय संसद भवनको शिलान्यास आज हुँदैछ। आज बुधबार बिहान साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ। शिलान्यास लगत्तै निर्माण कार्य सुरु हुने मन्त्रालयले जनाएको छ। ७ अर्ब रुपैयाँको लागतमा भवन निर्माण हुने प्रारम्भिक अनुमान छ।
भवन तीन वर्ष्भित्र निर्माण पूरा गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार झण्डै १ सय ७३ रोपनी ८ आना जग्गामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद् सचिवालयको तीन वटा भवनसहित सुरक्षाकर्मीको लागि आवास र झण्डै ७ सय गाडी पार्किङ गर्न सकिनेछ।