काठमाडौं — खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ। प्रतिकेजी रु. २५ देखि ३० मा पाइने अदुवाको मूल्य बढेर प्रतिकेजी रु २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ। अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ।
विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ। मूल्य बढ्नुको कारण भने उत्पादनमा कमी आएकाले हो। आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ। तर, उत्पादन कम हुँदा पितृकार्यमा प्रयोग गर्न समेत अनुदाको अभाव देखिएको स्थानीय बताएका छन्।
जिल्लाका किराँत राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन्। आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताउँछन्। ‘यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवाखेती गरियो।’ उनले भने, ‘पछि आएर वाणिज्य सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छाडियो।’