काठमाडाैं - अहिले अनिकाल र कुपोषणले ज्यान गुमाउनुपर्ने अवस्था छैन। तर, समस्य ज्यूँको न्युन छ, अर्थात खानेकुराकै कारण मान्छेहरु ज्यान गुमाइरहेका छन्। फरक कतिमात्र छ भने, विगतमा खान नपाएर ज्यान गुमाउँथे, अहिले खान नजानेर।
विगतमा मान्छेहरु खान नपाएर ज्यान गुमाउँथे। अनिकालको कारणले, अभावको कारणले, कुपोषणको कारणले। अर्थात भोकले मान्छेहरु मर्थे। पर्याप्त र पोषिलो खानेकुराको अभावमा ज्यान गुमाउँथे।
हामीले खाने हरेक छाक वा हरेक गाँस आयतित खानेकुरा हुन्, जो कसैले व्यवसायिक हिसाबले उत्पादन गरेका हुन्। त्यस्ता खानेकुराको गुणवत्तामा ढुक्क हुन सकिदैन। हामी अरुले उत्पादन गरेका, अरुले तयार गरेका खानेकुरामा निर्भर छौं। यही कारण हाम्रो खानपान अस्वस्थ्यकर छ ।
खानेकुरा पर्याप्त छ। जे खान मन लाग्छ, खान सकिन्छ । यद्यपि ति सबै खानेकुरा खानयोग्य छैनन्। स्वास्थ्यवर्द्धक छैनन्। धेरैजसो खानेकुरा स्वादका लागि तयार गरिएको छ। त्यसैगरी व्यवसायिक हिसाबले पनि खानेकुरा उत्पादन गरिएका छन्।
हाम्रो पेटमा यिनै खानेकुरा पुग्छ, जसले जिब्रोको तलतल मेट्ने र पेट भर्ने काम गर्छ। तर, ति खानेकुरा सुपाच्य हुँदैनन्। अहिले धेरैको शरीर रोगको भण्डार बन्दैछ र त्यसको कारण बनेको छ अस्वस्थ्यकर खानेकुरा।
साग चाहियो, बजारमा खरिद गर्न पुग्छौं। सिमी चाहियो, बजार धाउँछौं। चामल, दाल, तेल, मसला सबै बजारबाटै आपूर्ति गर्छौं। यसरी आयतित खानेकुरामा हामी सम्पूर्ण रुपमा निर्भर छौं।
खानेकुरा भनेको शरीरको एक अंश हुन्। जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ। त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ।
अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ। किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं।
जबकि हामीले थोरैमात्र प्रयास गर्ने हो भने आफ्नै उत्पादनले धेरै छाक टार्न सक्छौं। अर्थात हामी आफैले उत्पादन गरेका, अग्र्या्निक खानेकुरा आफ्नो छाकमा समावेश गर्न सक्छौं।
खोजौं रैथाने खानेकुरा :
तपाईं कहाँ बस्नुहुन्छ , गाउँ वा शहर, पहाड वा तराई, सुगम वा दुर्गम, भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ। ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ। च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ।
तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ। यस्ता सागसब्जी, अन्नहरु उत्पादन गरेर आफ्नै लागि उपभोग गर्न सकिन्छ।
हुनसक्छ, कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला। यद्यपि घरकै करेसाबारी, छत, बार्दली आदिमा पनि सागसब्जी लगाउन सकिन्छ। हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन्, अन्न उत्पादन हुन्छन्।
त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो। अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ। पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ। त्यसको स्वादमा विविधता थप्न सकिन्छ।
रैथाने उत्पादन महत्वपूर्णः
हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ। पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो। किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ।
तपाईंको घर आसपासमा कतिथरी वनसपति पाईन्छन्ः
तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन्, ति वनस्पतिमध्ये कति खान योग्य छन्, कति स्वादिलो र पोषिलो छन्, पहिचान गर्न सकिन्छ।
हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे, जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन्।
खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन्। ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं।