धरान — नर्सिङ पढ्दै गरेकी एक छात्रा होस्टलमा झुण्डीएको अवस्थामा फेला परेकी छन्। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएससी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देव मंगलबार आफू बस्ने होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
यो घटना हत्या हो या आत्महत्या त्यस बिषयमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार मृतक अञ्जनाको रुम पार्टनरको मंगलबार बिहान डिउटी परेका कारण होस्टल कोठामा उनी मात्रै थिइन्। बिहान कलेजका लागि अञ्जना साढे ७ बजेतिर होस्टल कोठाबाट निस्किए पनि पुनः कोठामै फर्किएकी थिइन्।
रुम पार्टनर डिउटी सकेर आउँदा उनले ढोकामा पटकपटक ढकढक्याएकी थिइन्। तर ढोका खुलेन। ढोको नखुलेपछि उनले चेपबाट चिहाएर हेर्दा झुण्डिएको अवस्थामा देखिन्। त्यसपछि सबैलाई उनले गुहारिन्। कोठामा पछाडि पट्टिको ढोका खुल्ल थियो। त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए।
अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ। मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा नै राखिएको छ। थप अनुसन्धानपछि अभिभावकलाई उनको शव बुझाउने प्रहरीले जनाएको छ।