काठमाडौं–विपद्का घटनामा परी पाँच महिनामा २७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपतमा परी सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन्।
घटनामा परी एक हजार ६३ वस्तुभाउ मरेका छन्। चार हजार ६ सय ७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए। पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७ सय ६१ घर, २ सय १७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यस वर्ष अचानक विपतमा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको सहप्रवक्ता जोशीले जानकारी दिए। नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ।