काठमाडौं – संघीय राजधानी काठमाडौंलाई आज बल्ल खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै छ। राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे औपचारिक कार्यक्रम आयोजना गरी काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो।
धेरै जिल्ला खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने भनिएको राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जाको विषय बनेको थियो। काठमाडौंमा अझै पनि सार्वजनिक शौचालय व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका छ।
काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी थियो। नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो। कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो। काठमाडौं उपत्यकाको भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो।
काठमाडौं महोत्तरी र कपिलवस्तु पनि तीन जिल्लालाई एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको यो पहिलो पटक हो। सरकारले २०७६/७७ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिहँदा कपिलवस्तु जिल्ला पनि आजमात्र खुल्ला दिसामुक्त घोषणा हुन लागेको छ। सरसफाइ गुरुयोजना २०६८ लागू गरेर खुला दिसामुक्त अभियान सुरु गरेको थियो।
सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ। तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ।
भदौ मसान्तभित्रै खुला दिसामुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिइएको थियो सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ। नेपालमा २०६८ यता शौचालय निर्माणका गर्नका लागि ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ।