काठमाडौं– १ करोड भन्दा बढीको लागतमा मोरङका विभिन्न ठाउँमा ५८ वटा सिसीटिभी जडान गरिएको छ। प्रदेश १ सरकारको सहयोगमा मोरङ जिल्लामा जडान भएका उक्त सिसीटिभीका सामेबार एक कार्यक्रमबीच प्रदेश १ का मुख्य सचिव शेरधन राईले उद्घाटन गरेका हुन्।
संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मार्फत जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरिएको थियो। उक्त सिसिटीभीमध्ये विराटनगर क्षेत्रमा ३२ वटा, बुढीखोलादेखि बाउन्नेसम्म १३ वटा र पथरी उर्लाबारीसम्म १३ वटा जडान भएका छन्। अप्टिकल फाइबर जडान भएका उक्त सिसिटीभी काठमाडौंपछिको दोस्रो ठूलो नेटवर्क हो।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाई समाजमा हुने अपराध न्यूनीकरण तथा नियन्त्रण गर्न, अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति सु–व्यवस्था कायम गर्न प्रदेश १ सरकारको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो। मोरङ जिल्लाका सीमा क्षेत्र तथा राजमार्गमा प्रथम चरणमा १ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको लागतमा जडान गरिएका ५८ वटा सिसिटिभी जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालयहरु बेलबारी र पथरीले मोनिटरिङ गर्नेछन्।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले नेपाल प्रहरीको विद्यमान सुदृढिकृत सुरक्षा पद्धतिलाई थप प्रभावकारी बनाई सेवा प्रवाहको गुणस्तरीय अभिवृद्धि गर्न प्रविधिको उपलब्धता निशर्त आवश्यकता रहेको चर्चा गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अहिलेको सन्दर्भमा अपराध नियन्त्रण, अनुसन्धान, रोकथाम र शान्ति सुरक्षाका लागि प्रहरीले प्रविधिमैत्री भएर काम गर्नुपर्ने अपरिहार्यता रहेको बताए।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले विराटनगर महानगरलाई स्मार्ट्सिटीको रुपमा विकास गर्दै लैजान नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताए।