एजेन्सी–फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनको युईएफए च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल स्पेनिस महारथि रियल मड्रिडसँग खेल्दैछ। बिहीबार (सेप्टेम्बर १९) मा यी दुई टोली भिड्ने छन्।
रियलसँग खेल्दै यो सिजनको च्याम्पियन्स लिगको यात्रा शुरु गर्न लागेको पीएसजीको टोलीमा भने दुई स्टार खेलाडी हुने छैनन्। ब्राजिलीयन स्टार नेमार तथा फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेले रियलविरुद्धको टोलीमा हुने छैनन्।
अघिल्लो सिजनको अन्तिम १६ मा म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा नेमारले सोसियल मिडियामा रेफ्रीको आलोचना गरे पछि उनलाई ३ खेलको प्रतिवन्ध लगाइएको थियो। स्पेनिस पत्रिका मार्काले सो कारबाहीका कारण उनले यो सिजनका शुरुवाती तीन खेल गुमाउने जनाएको छ।
शनिबारदेखि पीएसजीको टिममा नेमार फर्किएका छन्। टिमलाई अन्तिम समयमा गोल गर्दै जित दिलाए पनि पीएसजीका समर्थकले उनीविरुद्ध नारावाजी गरेका थिए।
एम्बाप्पेले भने माशंपेशीमा चोट लागेको कारण टिम बाहिर रहेका छन्। आगामी बिहीबार पीएसजीले यो सिजनको च्याम्पियन्स लिग यात्रा घरेलु मैदानमा खेल्दै शुरु गर्नेछ।