काठमाडौं — पत्रकार महासंघका सचिव सहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।सिंहदरवार रेडियो नेपालको कार्यलय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको हो। रेडियो नेपालको कार्यालयमा तलाबन्दी गर्ने निर्धारित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यालय अघि पुगेका पत्रकारहरुलाई तीन ट्रक प्रहरी परिचालन गरि पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मदीव जैशी, मिन बम, यम विरही छन् र प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी रहेका छन्। त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष मिन जोशी पक्राउ परेका छन्। प्रकाउ गरिएका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ।
रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो। रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए।