काठमाडौं — मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ। विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १ सय २९ कैदीबन्दी रहेका छन्। कारागारमा दुई हजार ७ सय ४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन्।
केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५ सय क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउनुहुन्छ। ‘देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको हाे’, उनी भन्छन्।
केन्द्रीय कारागार परिसरभित्र हाल तीन वटा जेल रहेका छन्। जसमध्ये केन्द्र जेलमा एक हजार ९ सय १०, भद्र जेलमा ८ सय ३२ र महिला जेलमा ३ सय ७८ कैदीबन्दी रहेका छन्। कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोगसमेत लाग्ने गरेको छ। केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पतालसमेत सञ्चालन भएको छ। उक्त अस्पताल हाल ३० श्ययाको रहेको छ।
कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् ४ सय ७९ जना लागुऔषध कारोवारका रहेका छन्। यस्तै ३ सय ५७ जबर्जस्ती करणी, १ सय ३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन्।
पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ। सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउनुहुन्छ। विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन्। काठमाडौँ र दाङमा दुई/दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन।
हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन्। यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन्। विभागका अनुसार हाल देशभर २२ हजार ६ सय ७६ कैदीबन्दी रहेका छन्। देशभर कारागारको क्षमता भने १५ हजार ४ सय ६६ रहेको छ। (रासस)