दाङ– शनिबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा मुलुकमा फेरि राजा नफर्किने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन्।
पत्रकारले सोधेको राजा र राजतन्त्रको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने, ‘राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’ देउवाले राजाको पक्षमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’
त्यस्तै देउवाले कम्युनिस्ट शासक अधिनायकवादी हुन्छन् भन्ने सुनेको तर अहिले आफूहरुले भोग्नु परेको सुनाए। उनले कम्युनिस्ट नेतृत्वको दुई तिहाई सरकार अहिले अधिनायकवादतर्फ उन्मुख भएको भन्दै प्रजातन्त्रप्रति आस्था राख्ने सबै शक्ति एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
दाङको तुलसीपुरमा रहेको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। सँगै देउवाले मिडियामा सरकारले अंकुश लगान थालेको आरोप लगाए। ‘सरकारले मिडिया क्षेत्र मात्रै होइन नागरिकलाई समेत करको भारी बोकाउन सुरु गरेको छ’, उनले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सांघातीक आक्रमण गर्ने, स्वतन्त्र बोल्न नदिने कामले सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको देखिन्छ।’
मिडियालाई ऐन नियमका नाममा अंकुश लगाउन नहुने उनको तर्क छ। ‘मिडियामाथि ऐन र नियमका नाममा अंकुश लगाए कांग्रेस चुप बस्दैन’, देउवाले बताए। पूर्वप्रधानमन्त्री नेता देउवाले बाँकेमा कांग्रेस नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने दोषीलाई कार्बाही नहुँदासम्म संसद चल्न नदिने बताए।
देउवाले भने, ‘बाँके कांग्रेस सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने नेकता कार्यकर्तालाई कारबाही हुनै पर्छ’ र ‘दोषीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’ उनले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने उल्लेख गर्दै सत्ताको आडमा लोकतन्त्रको धज्जी नउडाउने बताए।
उनले भने, ‘कांग्रेसले शान्तिपूर्ण जागरण कार्यक्रम गरिरहेका छौँ’, ‘नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग गरिरहेको छ।’ अहिले मुलुकमा प्रजातन्त्रमाथि आक्रमक भइरहेको दाबीसमेत देउवाको छ। देउवाले भने ‘पार्टीमा चुनौती आएको छ, यसबेला सबै एक भएर लाग्नुपर्छ’। ‘पार्टीको गुट उपगुट अन्त्य गर्न सबै लाग्नुपर्छ।’ उनले कोही पनि संविधानविरुद्ध लाग्नु नहुने बताए।