जुम्ला – माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन्। एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन्। महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का कृष्ण बुढाले बताए।
‘दिन प्रतिदिन माहुरी मर्दै गएका छन्। कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,’ बुढाले भने। जुम्लालाई जिल्ला परिषदबाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो। तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ।
पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उहाँले १० वटा आधुनिक घार पनि राख्नु भएको छ । हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उनको भनाइ छ। ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे।
वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गरे। झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाई छ। ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने।
सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ। यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ। जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो। कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा दुई हजार पाँच सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३ /७४ मा दुई हजार आठ सय किलोग्राम उत्पादन भएको थियो।
त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा दुई हजार एक सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ। अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ। जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन्। माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ। (रासस)