जुम्ला – जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले त ऋण पत्याउन पनि छोडे साहुले, छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भने तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको गुनासो छ।
‘आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्, संयोजक नेपालीले भने,‘स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन्।’ तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको उनको दुखेसो थियो। शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ। ‘केही समयका लागि भनेर ऋण सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि फोन बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘तलब आउने वित्तिकै दिन्छु भनेर पैसा ऋण लिएँ तर आज पाँच महिना भयो,’ स्थानीय सरकारलाई तलब खुवाउनुपर्छ भन्ने मतलब नै छैन।
गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको सङ्घर्षपछि अब तलब पाउने आशा रहेको बताए। ‘अब सम्भवत दुई –चार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ’, उनले भने, ‘फागुनसम्मको तलब सबैले पाउँछन्।’
स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको थियो। काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लामो लडाइँ गर्नुपरेकोमा कर्माचारी गुनासो रहेको छ।
अब भने जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करीब एक हजार ७ सय ४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने अपेक्षा गरेका छन् ।भने सरकारले पनि पिछाडी परेको क्षेत्रमा विशेष ध्यान दिन जरुरी रहेको कर्माचारी बताउछन्।