काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दनसँगै पर्यटक आकर्षण गर्नको लागि काठमाडौंमा त्रिदेशीय पर्यटन मेला हुने भएको छ। नेपाल, भारत र चीन एक्स्पो (नाइस)को आयोजनामा गर्न लागिएको मेला फागुन दोस्रो साता (फेब्रुअरी २१ देखि २४ सम्म) हुने भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाललाई उक्त मेला संयोजनको जिम्मा दिएको छ। मेलाको विषयमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पर्यटन वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले भने, ‘नेपालको सरकारात्मक सन्देश प्रवाह गर्न र २० लाख पर्यटक भित्र्याउन मेला प्रभावकारी हुनेछ।’ नेपालबाट बाहिरिने पर्यटकको गन्तव्य पनि भारत र चीन नै हुन्।
यी दुई मुलुक हाम्रा छिमेकी र यहाँबाट आउने पर्यटक बढाएर नै हामीले २०२० को लक्ष्य पूरा गर्ने योजना बनाएका छौं। नेपालबारे सकारात्मक सन्देश प्रवाह गरेर सञ्चारमाध्यमले पर्यटक आकर्षित गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। कमजोरी देखाएर पर्यटक तर्साउने होइन, कमजोरी त हरेक क्षेत्रमा हुन्छन्। हामीसँग भएका सबल पक्ष र सकारात्मक विषयबाट नै पर्यटक आकर्षित हुने उनको धारणा थियो
भ्रमण वर्षको अवसर पारेर गरिन लागिएको यो मेलाको पाटा नेपाल च्याप्टरको संयोजन तथा भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डसँगको समन्वय तथा सहकार्यमा उक्त एक्स्पो हुने भएको हो। पाटा नेपालका अध्यक्ष सुनिल शाक्यका अनुसार विश्व पर्यटन इतिहासमै पहिलोपटक तीनवटा मुलुक समावेश गरेर यस्तो मेला आयोजना गर्न लागिएको छ। यस्तो मेलाले नेपाल प्रवर्दन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाक्यले बताए।
मेलामा दुई सयभन्दा बढी क्रेता, एक सय विक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी उपस्थित हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। मेलामा विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी एक हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता हुने पनि भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ।