धनगढी – यातायात व्यवस्था कार्यालय कैलाली दुई हप्ता देखी प्रमुख बिहिन रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरको टोलिले कार्यालय प्रमुख गम्भीरसिंह विष्टलाई घुस रकमसहित पक्राउ गरेपछि कार्यालय प्रमुखविहीन भएको हो।
यातायात व्यवस्था कार्यालय कैलालीबाट दैनिक पाँच सय बढी सेवाग्राहीले सेवा लिन्छन्। यहि भदौ १२ देखि कार्यालय प्रमुखविहीन भएपछि प्रशासनिक कामबाहेक आर्थिक कारोवार ठप्प छ। विष्टसहित २ जना अन्य अधिकृत पनि पक्राउ परेका हुन्। कार्यालयका शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई एक लाख ६६ हजार एक सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।
कार्यालय प्रमुख विष्ट पनि निमित्त भएर काम गर्दै आएका थिए। विष्टसहित ३ जना अधिकृत पक्राउ परेपछि सुदूरपश्चिम प्रदेश सरकारले कार्यालय प्रमुख पठाउन सकेको छैन। प्रदेश सरकारले सिनियरका आधारमा अधिकृत नन्दलाल पाण्डेलाई आर्थिक कारोबारबाहेक प्रशानिक जिम्मेवारी दिएको छ। यद्यपी कार्यालयमा कुनै पनि कर्मचारीको नेम प्लेट राखेको छैन। जसले गर्दा सेवाग्राही अन्योलमा पर्ने गरेका छन्।
सेवाग्राहीलाई छिटोछरितो सेवा नदिएको गुनासो आइरहेका बेला दरबन्दी अनुसार कर्मचारी नभएपछि सेवाग्राहीलाई सास्ती हुने भएको हो। फोटो खिच्न मात्र एक दिन लाग्ने गरेको धनगढी उपमहानगरपालिका (८ का किसन चौधरीले बताए। जति चाँडो आए पनि कार्यालयमा भीड उस्तै हुने गरेको उनले गुनासो गरे।
कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामको चाप समाल्न नसक्ने गरी बढेको निमित्त कार्यालय प्रमुख पाण्डेले बताए। ’प्रशासनिक काम भइरहेको छ,’ उनले भने, ’आर्थिक कारोबार भदौ १२ गते देखि बन्द छ।’
कार्यालयका ढिला सुस्तीले सेवाग्राही हैरान छन्। एकजनाको लाइसेन्स नविकरण गर्न दुई दिन पुरै खर्चिनुपर्ने बाध्यता भएको जिल्लाको भजनी नगरपालिका(४ का पुरन जोशीको गुनासो छ। एकजना उपसचिवसहित २४ जनाको दरबन्दी भएको कार्यालयमा १५ जना कर्मचारी छन्। भएका कर्मचारी पनि तल्लो तहका मात्र भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए।
‘कार्यालयमा कर्मचारी दरबन्दी पुरानै छ,’ निमित्त कार्यालय प्रमुख पाण्डेले भने, ’तर, सेवाग्राहीको चाप दुई गुणाले बढेको छ। भएको कर्मचारीहरु मध्ये पनि ४ जना स्थानीय तहमा समायोजन भएका छन्।’निमित्त कार्यालय प्रमुख पाण्डेले एउटै तहका कर्मचारीलाई निर्देशन दिन समेत गाह्रो हुने गरेको गुनासो व्यक्त गरे।कैलाली यातायात व्यवस्था कार्यालयमा प्रमुख नहुँदा समस्या भएको मन्त्रालयलाई जानकारी भएको सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए।