एजेन्सी – बुधबार भारत र चीनका सेनाबीच लद्दाखको सीमामा दिनभर धकेलाधकेल भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वी लद्दाखको सीमावर्ती क्षेत्रमा दुई देशका सेनाबीच बिहानै सुरू भएको धकेलाधकेल बुधबार साँझसम्म चलेको जानकारी आएको छ।
भारतीय सेनाले बुधबार बिहानै प्यानगोङ तालको उत्तरी क्षेत्रमा गस्ती गरेको थियो। गस्तीमा गएको भारतीय सेनालाई चिनियाँ जनमुक्ति सेनाका सैनिकले रोकेका थिए। उक्त तालको दुई तिहाइ भागमा चीनको नियन्त्रण छ। आफ्नो सीमामा आएको भन्दै चिनियाँ सेनाले भारतीय सैनिकलाई रोकेपछि धकेलाधकेल भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
लाइन अफ एक्चुअल कन्ट्रोल बारे दुई पक्षका फरक र फरक बुझाइ भएकाले धक्कामुक्काको अवस्था आएको हो। साँझ दुई पक्षका अधिकारीहरूबीच कुराकानी भएपछि विवाद सल्टिएर अवस्था सामान्य भएको भारतीय सेनाले जनाएको छ।
उक्त क्षेत्रमा भारतीय र चिनियाँ सैनिक आमनेसामने भएको यो पहिलो पटक भने होइन। सन् २०१७ अगस्टमा दुई देशका सैनिकबीच भएको झगडाको भिडिओ भाइरल भएको थियो। त्यतिबेला चिनियाँ सेनाले सीमा पार गरेकाले झगडा भएको बताइएको थियो।
सन् २०१७ जुनमा दोक्लम सीमा क्षेत्रमा चीनले निर्माण गर्न लागेका संरचना रोक्न भारतीय सेना गएको थियो। त्यसपछि दुई देशका सेना झन्डै साढे दुई महिना आमनेसामने भएका थिए।