काठमाडौं – महानगरपालिकाले त्रिपुेश्वरदेखि जमलसम्मको बाटोमा वृक्षारोपण कार्य सुरु गरिएको छ।
करीब २ किलोमिटर दूरीको बीच पर्ने सडक खण्डको दुवै किनारामा करिब ५ सय विरुवा वृक्षरोपण गर्ने लक्ष्य महानगरपालिकाको रहेको छ। बिहीबार वन मन्त्री शक्ति बस्नेत, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली सेनाका उच्च अधिकारीले संयुक्त रुपमा कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गरेका हुन्।
वृक्षारोपण पछि सहरी हरियाली प्रवर्धनका लागि साझेदारिताका विषयमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भने, बसोबासमैत्री सहर बनाउन हामी हरियाली बढाउँदै छौं। पार्क निर्माण तथा हरियाली प्रवर्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १ र १ करोड रुपैयाँ अनुदान दिएका छौं।
अहिलेको काम वन विभाग र नेपाली सेनाको सहकार्यमा अघि बढेको हो। नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालन हुने भएको छ।
महानगर क्षेत्रभित्र पार्क निर्माण, वृक्षारोपण लगायतका काम भइरहेका छन्। महानगरले सार्वजनिक र खुल्ला स्थानमा पार्क निर्माण गर्ने कामसँगै साझेदारलाई सँगै लिएर सडक किनारालाई एकसमानको हरियाली बनाउने भएको छ।
यीमध्ये दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ। यसमा लगानी महानगरले गर्नेछ भने व्यवस्थापन नेपाली सेनाले गर्ने छ।