काठमाडौं – काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको छ।
इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन यस वर्ष पहिलो पटक विश्वका विभिन्न मुलुकका पाँच मेयरसहित ४८ जना पाहुनालाई सहभागी गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए।
नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको पनि उनले बताए। बिहीबारबाट उनीहरु नेपालमा आउन सुरु गर्नेछन। आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुने बताएका छन्।
मंगलबार (हिजो) बाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्या भण्डारीले बसन्तपुरमा कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाको सम्पदाहरुको अवलोकन गराउने महानगरपालिकाको योजना छ। त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लवहरुसँग पनि सहकार्य गरिएको छ।
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख रुपैयाँ खर्चको व्यवस्था गरेको जनाएको छ। मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैले गर्न लागेको बताएका छन्।
उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका पाँच जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन्।